Awesome Image

बलिउडसम्म नेपाली चेली सम्पदा मल्ल : जस्ले दिल्ली÷बम्बेमा समेत पहिचान बनाउनुभयो

रमिता दंगाल

काठमाण्डौमा जन्मे हुर्केकी सम्पदा मल्ल फिल्म क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँको पहिचान फिल्म क्षेत्रमा मात्रै होइन लेखनमा पनि छ । बाल्यकाल कलाकै माहोल बित्यो । किशोरावस्था र युवा उमेर पनि रंगमञ्चमै बित्दैछ । रंगमञ्चमा आफ्नो छुट्रटै पहिचान बनाउन सफल मल्लको यात्रा जारी छ ।

बाल्यकाल

सम्पदा मल्लको जन्म काठमाण्डौको रातोपुलमा भएको हो । उहाँका बुवा अशेष मल्ल रंगमञ्च क्षेत्रका लोकप्रिय व्यक्तित्व हुनुहुन्छ । साथै आमाले पनि नाटकमा नै पीएचडी गर्नुभएको छ । परिवारीक वातावरण नै कला क्षेत्रमा सक्रिय रहेकाले मल्लको पनि लगाव त्यसैमा रह्यो । मल्लले काठमाण्डौको ग्यालेक्सी पब्लिक स्कुलबाट माध्यामिक शिक्षा पुरा गर्नुभयो । बच्चा बेलादेखि नै विभिन्न लेख रचनाहरु लेख्ने गर्नुहुन्थ्यो । कक्षा सातमा हुँदाखेरी नै कान्तिपुर पत्रिकामा लेखहरु लेख्न थाल्नुभयो ।

‘हुने बिरुवाको चिल्लो पात’ भने जस्तै उहाँका लेख सानै उमेरदेखि प्रकाशित हुन्थे । लेखनलाई अहिलेसम्म पनि निरन्तरता दिदै आएको मल्लले बताउनुभयो ।

बुवाआमाको साथ

उहाँ भन्नुहुन्छ‘लेख्ने चाहना सबैमा हुन्छ, तर सबै म जस्तै भाग्यमानी हुँदैनन् ।’ म भन्दा अघिल्लो पुस्ता पनि यही क्षेत्रमा हुनुभएकोले मैले पो एउटा आफ्नो सिर्जनाको विकास गर्ने माहोल पाएँ । मैले कति धेरै मान्छेले आफुले चाहेको गर्न नपाएको देखेको छु, यस्तो सुन्दा देख्दा चाहिँ साह्रै नराम्रो लाग्छ । कागेश्वरी खबरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘सबैले आफुले चाहेको क्षेत्रमा मैले जस्तै बुवा आमाको साथ पाएको हुँदैन, बुवा आमाको साथ र सहयोग जीवनमा प्रगती गर्न निक्कै सहयोगी बन्छ ।’

कक्षा दश सकिएपछि यस्तो कुनै पत्रपत्रिका थिएन, जहाँ उहाँको लेख रचना नछापिएको होस् । स्कूल पढ्दादेखि नै पत्रिकामा भएको इमेलमा आफ्नो लेख पठाउने गर्नुहुन्थ्यो, तर कसैलाई पनि आफु अशेष मल्लको छोरी भनेर भन्नुभएको थिएन ।

सत्र वर्षको उमेरमा उहाँले कथा संग्रह प्रकाशित गर्नुभएको थियो । लेखन मेडीटेसन जस्तै भएको मल्ल बताउनुहुन्छ । ‘कलिलो उमेरदेखि नै लेख्न थालेको हो’ उहाँ भन्नुहुन्छ‘अहिले पनि लेखन क्षेत्रलाई नै निरन्तरता दिन पाउँदा आफुलाई निकै भाग्यमानी ठान्छु ।’

दिल्ली यात्रा र अनुभव

काठमाण्डौमा स्नातक तह उर्तिण गरेपछि मास्टरको लागि के गर्रौ भन्ने अलमल भयो । साथीहरु सबै विदेश जाने क्रममा थिए । तर उहाँले पढाईलाई निरन्तरता दिने सोचेर मास्टर पढ्न चाहनुभयो । उहाँका साथीहरू सबै विदेश गइरहेका बेला उहाँ भने दिल्ली पुग्नुभयो ।

पहिलो पटक दिल्ली जाँदा निकै डर लागेको उहाँको अनुभव छ । नेपाली भनेर अपमान भइन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो । त्यहाँ पुगेपछि कसरी घुलमिल हुने भन्ने चिन्ता पनि थियो । तर जब उहाँ दिल्ली पुग्नुभयो, त्यतिबेला आत्मविश्वास आयो । काठमाण्डौ कै उत्पादन भएपनि प्रतिस्पर्धा गर्न सक्षम रहेको उहाँलाई लाग्यो । अंग्रेजी भाषाले पनि केहि सहज बनायो । त्यहाँ आफुलाई कसैले नेपाली भनेर हेप्ने पो हो कि भन्ने जुन मानसिकता थियो तर उहाँलाई त्यहाँ कसैले हेपेनन् । बरु वाउ नेपाली भनेर खुशी हुन्थे र नेपालको खुलेरै प्रशंसा गर्थे ।

पढाईलाई निरन्तरता दिने क्रममा उहाँले एशियन एकेडेमी अफ फिल्म एण्ड टेलीभिजन कलेजबाट फिल्म मेकिङमा मास्टर गर्नुभयो । दिल्लीमा मास्टर सकेर उहाँ बम्बे जानुभयो । त्यतिबेला बम्बे भन्ने बित्तिकै डर लाग्दो ठाउँ जस्तो लाग्थ्यो । अरुले सकिदैन भनेको सुनेकै भरमा उहाँलाई पनि म पनि सक्दिन होला जस्तो लाग्थ्यो । एक त नेपाली त्यसमाथि कसैसँग जानपहिचान नहुँदा बम्बे सुनेजस्तै भयो । अनि नेपालमा नै केहि गर्छु भनेर नेपाल फर्किनुभयो ।

नियतीले फेरी पुर्यायो बम्बे

मल्लले बम्बे छोडेर नेपाल आउनुभयो । तर फेरी नियतीले बम्बे पुर्यायो । उहाँले भन्नुभयो,‘त्यतिबेला एनडी टीभीमा एउटा सिरियलमा असिस्ट गर भनेर एक जना राइटरको कल आयो र त्यसपछि फेरी बम्बे गए ।’ बम्बेमा काम खोज्नु भन्दा पनि उहाँलाई कामले बम्बे लग्यो । पढ्दा पढ्दै पनि महेश भट्टले फिल्मको लागि विद्यार्थीहरु खोज्नु भएको थियो, त्यसमा मल्ल पनि सेलेक्ट हुनुभएको थियो । त्यहाँ उहाँले कलेज टप पनि गर्नु भएको थियो । नेपाली भएर पनि यस्तो गर्यो भनेर कलेजमा पनि एक किसिमको छाप थियो । बम्बेबाट उहाँले जे जे पाउनुभयो त्यसलाई कलेजसँग नजोडेर नियती नै भएको मल्ल बताउनुहुन्छ ।

जीवनको अर्को मोड

एकदिन सवा मुमताजको कल आयो र बम्बेको यात्रा संगै बलिउडमा आफ्नो फिल्म करिअर सुरु भएको मल्ल बताउनुहुन्छ । उहाँले पढाइ सक्नुभयो । त्यसपछि स्टारप्लसको ‘ये रिश्ता क्या कहलाता हे’ र ‘नब्या’, कलर्सको ‘उतरन’ र ‘भाग्यविधाता’, सोनीको ‘परवरिस’, लाइफ ओकेको ‘सौभाग्यवती भवः’, लगायतका चर्चित टेलिसिरियलहरूको एसोसिएट स्क्रिन प्ले राइटर भएर काम गर्नुभयो ।

सहायक लेखक भएर सिरियल गर्दागर्दै मल्लले स्वतन्त्र भएर तथा आफु मुख्य लेखक भएर पनि सिरियल गर्न पाउनुभयो । ‘इश्क का रंग सफेद’ ‘गुमराह’ जस्ता सिरियलहरुमा मुख्य लेखक भएर काम गर्नुभयो । उहाँले बम्बेमा आफूलाई चिनाउन सफल हुनुभयो ।

२०११ देखि २०१२ सम्म सिरियलहरु लेखेँ त्यसपछि दिक्क लागेर उहाँले एस राज फिल्मसँग आवद्ध भएर मेकिङ डिरेक्टरको भूमिकामा फिल्मको करिअर सुरु गर्नुभयो । त्यसपछि बलिउड क्रियटिभ प्रोड्युसरको भूमिकामा फिल्ली करिअरको यात्रा सुरु भयो ।

त्यसपछि कलेजका साथीहरु मिलेर फिल्म बनाउने योजना बनाउनुभयो र साथीहरु मिलेर ‘केरी अन कुत्तो’ फिल्म बनाउनुभयो । जुन फिल्ममा मल्ल क्रियटिभ प्रोड्युसर रहनु भएको छ, भने अशोक यादवले ‘केरी अन कुत्तो’लाई निर्देशन गर्नुभएको छ । त्यहि समयमा सलमानको ‘सुल्तान’ पनि संगै रिलिज भएकाले हालमा चल्न सफल भएन र
व्यवसायिक सफलता पाउन सकेन ।

नेपालको मोह

बम्बेमा काम गर्दै गर्दा नेपालमा पनि मैंले केहि गर्नुपर्छ भनेर नेपाल आएर सर्वनाम थिएटरमा क्रियटिभ डिरेक्टरको भूमिकामा आवद्ध भएर काम गर्नुभयो । मल्ल भन्नुहुन्छ,‘म नेपाली हो, नेपाल मेरो जन्मभूमि हो र भारत त मेरो लागि एउटा अप्सन हो । नेपालको मोह पहिले पनि थियो, अहिले पनि छ र जहिले पनि हुनेछ ।’

नेपालमा मोबाइलबाट पनि सर्ट फिल्म बनाउन सकिन्छ भनेर मल्लले सुरुवात गर्नुभयो । दृश्यांश नामक सर्ट फिल्म फेस्टिबल प्रतियोगिता संचालन गर्नुभयो । यो प्रतिगोगिता चाहिं प्रत्येक वर्ष आयोजना गराउने उद्धेश्य थियो तर अहिले दुई÷तीन वर्षमा हुने गरेको पनि मल्लले बताउनुभयो । तपाईंहरुको हातमा मोबाइल छ भने तपाईंहरु पनि फिल्म बनाउन सक्नुहुन्छ है भनेर सुरु गरेको उहाँ बताउनुहुन्छ ।

सृजना सुत्र

एक वर्ष अगाडीदेखि आरम्भ भएको सृजना सुत्र कोरोना जोखिमपछिको लकडाउनमा अझ बढी प्रभावकारी भएको छ । लकडाउनमा नै ३०÷४० जनालाई काम दिएको उहाँ बताउनुहुन्छ । सम्पदा भन्नुहुन्छ,‘म आफुले पो अवसर पाए, तर अरु कति धेरै हुनुहुन्छ होला आफुसँग प्रतिभा भएको तर अवसर नपाएर बस्नुभएको ।’ त्यसैले उहाँहरु जाने कहाँ त ? त्यसका लागि सृजना सुत्र सुरु भयो । नेपाल आएपछि सुवास प्रधानसँग भेट भयो । र सृजना सुत्र सुरु भएको हो ।

उहाँले भन्नुभयो,‘अब जहाँ जसलाई पटकथा लेख्न मान्छे चाहिएको छ, निर्देशक, निर्माता चाहिएको छ, कलाकार चाहिएको छ, म संग क्षमता छ मैले लेखेको लेखहरुमा धमिरा लागिसक्यो भन्नुहुन्छ भने चाहिने मान्छेसम्म पुर्याईदिन्छ । सृजना सुत्रसम्म पुग्नका लागि फेसबुकमा सृजना सुत्र भन्ने पेज छ, त्यहाँ हरेक दिन विज्ञापन खोलेको हुन्छ । र हरेक दिन रोजगारीको अवसर दिइरहेका छौँ ।’

जहाँ भएपनि कला क्षेत्रबाटै नेपालको नाम प्रचार गर्न सक्यौँ

मुम्बई र काठमाण्डौलाई आफ्नो गन्तव्य मान्नु भएकी मल्ल भन्नुहुन्छ,‘जहाँ भएपनि कला क्षेत्रबाट नेपालको नाम प्रचार गर्न सक्यौँ ।’ मल्ल नेपालको चर्चित राजनीतिक टेली सिरियल ‘सिहंदरबार’ १ र २ को स्क्रिप्ट राइटर पनि हुनुहुन्छ ।

नेपाली फिल्म ‘कठपुतली’ छिट्टै रिलिज हुने क्रममा रहेको उहाँले बताउनुभयो । कठपुतलीमा मल्लले स्क्रीप्ट राइटर र निर्देशकको भूमिका निर्वाह गर्नुभएको छ ।

दैनिक ५ बजेदेखि ७ बजेसम्म स्क्रीप्ट राइटिङ्गको अनलाईन क्लास लिँदै आउनुभएको छ । उहाँले अनलाइन क्लासमा दुई सय भन्दा धेरैलाई पढाई सक्नु भएको छ । मल्ल अहिले डेब्यू डिरेक्सन जुन उहाँ आफूले नै निर्देशन गरेको पहिलो सिनेमाको स्क्रीप्ट लेखनमा ब्यस्त हुनुहुन्छ ।

गलत धारणा

अझै पनि नेपालमा आमा बुवाले आफ्नो बच्चालाई सिर्जनात्मक क्षेत्रमा भन्दा पनि डाक्टर, इन्जिनियर, पाइलट बनाउने चाहना राख्नुहुन्छ । उहाँहरुलाई फिल्म क्षेत्र या रंगमञ्चमा अवसर छैन जस्तो लाग्छ, त्यो चाहीँ गलत धारणा रहेको छ । तर अबसरसँगै नाम र दाम रहेको मल्ल बताउनुहुन्छ ।

 

Source : https://kageshworikhabar.com/feature-news/82667?fbclid=IwAR2MuRPpp9NDCFJX6hw9R66MzYjjWa-id12q0goCmafBVW28io9Ib65B_DI

Add Your Comments